एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा ओपनिङ ब्याट्सम्यान प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले इन्डोनेसियालाई फराकिलो अन्तरले पराजित गरेको छ । क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा आइतबार भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गरेको हो ।
नेपालले जितको लागि दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो । इन्डोनेसियाका कविन नीरजले सर्वाधिक १५ तथा दिवित नन्दाले १४ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा कप्तान बिपिनले ७.३ ओभरमा १२ रन मात्र दिएर उत्कृष्ट ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएको थियो । नेपालको यो ५० ओभरको खेलमा बनेको सर्वाधिक योगफल हो । अहिलेसम्म कुनैपनि उमेर समूहदेखि सिनियर टोली सम्मले यति योगफल बनाउन सकेका छैनन् ।
नेपालको जितमा प्रसिद्ध जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८८ रन बनाउदा ओपनर परिमार्जन यादवले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रनको विस्फोटक पारी खेले । जोय थापाले ४१ बलमा ५७ रन बनाए ।
इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १/१ विकेट लिए । समूह ए मा रहेको नेपालले हालसम्म खेलेका तीनै खेल जितेर ६ अंक जोड्दै अंकतालिकामा शीर्षस्थानमा छ । यस्तै, सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ भनेजापान र इन्डोनेसियाको २-२ अंक र भुटान अंकविहीन छ । नेपालले अब भुटानसँग खेल्नेछ ।