कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र सम्पन्न हुनुपर्ने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमै गर्नका लागि पार्टी पदाधिकारीहरूमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको भन्दै यसले कार्यकर्तामा महाधिवेशन सर्ने हो कि भन्ने चिन्ता बढाएको बताए।
कोइरालाले आफू र महामन्त्री गगनकुमार थापा अहिले एकै ठाउँमा रहेको जानकारी दिए। उनले आगामी महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको उल्लेख गरे।
फरक प्रसंगमा कोइरालाले संसद्मा जारी गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरू छलफलमा बस्न जरुरी रहेको बताए। उनले भने, “विपक्षीलाई पनि साथ लिएर समझदारीमा अगाडि बढ्नुपर्छ। माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रपालाई पनि साथ लिनुपर्छ।” रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामाभन्दा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा कमिटी बनोस् भन्ने चाहेको आफ्नो बुझाइ रहेको उनले बताए।