एमालेको सक्रिय राजनीतिमा फर्केको विद्या भण्डारीको घोषणा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राजनीतिक पुनरागमनको घोषणा गरेकी छन् । स्व. मदन भण्डारीको ७४ औं जन्मदिनको अवसरमा आज शनिबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गरेकी हुन् ।
उनले भनिन्, ‘उहाँका युगान्तकारी विचार र ऐतिहासिक योगदानप्रति गहिरो सम्मान प्रकट गर्दै सामाजिक न्याय, समानता र समृद्ध समाज निर्माण गर्ने उहाँको दूरदृष्टिलाई साकार पार्न हामी सबैले उहाँको नवीन विचारलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहितको थप सक्रियता प्रदर्शन गर्नै पर्दछ ।’
‘अन्यथा, जननेताद्वारा प्रतिपादित नवीन सिद्धान्त अनुरूपको सामाजिक–आर्थिक रूपान्तरणको प्रक्रिया सफल पार्ने उद्देश्यले बाटो बिराउनेछ र उहाँको सपना अधुरै रहनेछ,’ भण्डारीले भनेकी छिन् ।‘अन्यथा, जननेताद्वारा प्रतिपादित नवीन सिद्धान्त अनुरूपको सामाजिक–आर्थिक रूपान्तरणको प्रक्रिया सफल पार्ने उद्देश्यले बाटो बिराउनेछ र उहाँको सपना अधुरै रहनेछ,’ भण्डारीले भनेकी छन् ।
एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
“देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भावुक सम्बोधन गर्दै भनिन्, ‘आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुन: स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।”
एमाले विभाजनको आश नगरे हुन्छ : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेभित्र कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । मदन भण्डारी फाउण्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका तीन दशक विषय विचार गोष्ठी कार्यक्रममा ओलीले पार्टी एकजुट भएको भन्दै पार्टीभित्र समस्यामा छ भन्दै फुटको भ्रममा नपर्न आग्रह गरे । असार १४ गतेको दिन पारेर एमालेमा ठूलै केही हुन्छ भनेर केहीले धेरै आशा गरेको बसेको भन्दै त्यस्तो भ्रमम नपर्न समेत प्रधानमन्त्री ओलीको आग्रह थियो ।
‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती, यसलाई धेरैले विभिन्न आश गरेका छन् । यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, भन्ने सपना देखेर बसेको छ कुनै बम, बन्दुक, बारुद, गोला केही पड्कनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक हुन्छ, एकजुट भएर लाग्छ ।’ प्रधानमन्त्रीले भने ।
‘आज मदन भण्डारी ७४ औं जन्मजयन्ती पनि हो । राष्ट्रिय वृक्षारोपण पनि हो । देश त्यसमा लागेको छ । कुन चाहिँ अनलाइन हो कुन्नी थाहा छैन, यो कार्यक्रम भाँड्नका लागि वृक्षारोपण कार्यक्रम राखियो भनेर भन्छ,’ प्रधानमन्त्री ओलीले भने ।