यस्तो छ, नेपाली क्रिकेटरहरूको वरीयता

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयतामा ४१ स्थान सुधार गरेका छन् ।
आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप ७५औँ स्थानमा उक्लिएको हो । यस्तै ललित राजवंशीले वरीयतामा राम्रो छलाङ मारेका छन् । ललित २९ स्थान सुधार गर्दै ५४औँ स्थानमा उक्लिएको छ । सन्दीपले हालै स्कटल्यान्डमा भएको सिरिजको चार खेलमा ११ विकेट लिनुभएको थियो । ललितले पनि सिरिजमा चार विकेट लिएको थियो ।
यस्तै अलराउन्डतर्फ दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् छन् । कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२औँ स्थानमा छन् । ब्याटिङमा कुशल १० स्थान सुधार गर्दै ८३औँ स्थानमा उक्लिएको छ । वरीयतामा कप्तान रोहितकुमार पौडेल र आसिफ शेख दुई स्थान खस्किँदा दीपेन्द्रसिंह ऐरी यथास्थानमा छन् । रोहित ६६औँ, आसिफ ७७औँ दीपेन्द्र ६१औँ स्थानमा छन् ।
यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा आरिफ शेख १३ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लिएको छ । ओपनर आसिफ शेख ९४ र रोहितकुमार पौडेल ९९औँ स्थानमा छन् । आसिफ चार रोहित एक स्थान खस्किएको हो । यस्तै ओपनर कुशल भुर्तेल एक स्थान सुधार गर्दै ८७औँ स्थानमा छन् । नेपाल टी–२० वरीयतामा १८औँ र एकदिवसीयमा १७औँ स्थानमा यथावत छ ।