एमाले सचिवालयको बैठकबाट पाँचवटा प्रस्ताव पारित

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले पछिल्लो समय देश र विदेशमा देखा परेका महत्त्वपूर्ण घटनाक्रमप्रति गहिरो चासो व्यक्त गर्दै पाँच प्रस्ताव पारित गरेको छ। बुधबार सम्पन्न बैठकले इरान–इजरायल युद्ध, भिजिट भिसा विवाद, प्राकृतिक स्रोतको सम्भावना, बर्खायामको आपत् व्यवस्थापन र पार्टीका वरिष्ठ नेता तथा सदस्यको निधनलगायत विषयमा धारणा सार्वजनिक गरेको हो।
बैठकले इरान र इजरायलबीच पछिल्ला दुई सातादेखिको युद्धले खाडी क्षेत्रको शान्ति र स्थायित्वमा गम्भीर चुनौती खडा गरेको भन्दै तत्काल युद्धविरामको इमान्दारीपूर्वक पालना गर्न आह्वान गरेको छ। यस्तै, युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ। साथै, शक्ति राष्ट्रहरूलाई यस्ता द्वन्द्वलाई नचर्काउन, प्रत्यक्ष सहभागिता जनाउनबाट टाढा रहन र विश्वशान्तिमा योगदान दिन सचेत गराइएको छ।
बैठकले खाडी क्षेत्र र इजरायलमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाबारे पनि चासो व्यक्त गर्दै तिनको जीवन र पेसागत सुरक्षाका लागि नेपाल सरकारले आवश्यक समन्वय र प्रभावकारी कूटनीतिक पहलकदमी अघि बढाउनुपर्ने उल्लेख गरेको छ। सरकारले भिजिट भिसा दुरुपयोगबारे उच्चस्तरीय छानबिन समिति गठन गरेको निर्णयको एमालेले स्वागत गरेको छ। तर, सो विषयमा संसदभित्र भइरहेका निरन्तर अवरोध, नाराबाजी र वहिष्कारप्रति सचिवालयले आपत्ति जनाएको छ। बैठकले संसदको गरिमा र मर्यादा कायम राख्न सबै दल र सांसदलाई गम्भीर ध्यानाकर्षण गराएको छ।
दैलेखमा गरिएको पेट्रोलियम अन्वेषणको प्रारम्भिक प्रतिवेदनमा ११२ अर्ब मेट्रिक टन मिथेन ग्यासको सम्भावना देखिएको उल्लेख गर्दै बैठकले यो समाचारले राष्ट्रलाई ऊर्जा आत्मनिर्भरता र आर्थिक समृद्धिको दिशामा लैजाने सम्भावना बोकेको निष्कर्ष निकालेको छ। यस्तै, नवलपुरको धौवादी फलामखानी परियोजनालाई पनि सरकारद्वारा तीव्र गतिमा अघि बढाउनुपर्ने बैठकको धारणा छ। पार्टीले यी परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र पहलको विशेष स्मरण गर्दै, आवश्यक पूर्वाधार, लगानी तथा बजार संरचना तयार गर्न सरकारलाई आह्वान गरेको छ।
बर्खायाम सुरु भएसँगै विभिन्न स्थानमा पहिरो र बाढीले राजमार्गहरू बारम्बार अवरुद्ध भइरहेको भन्दै बैठकले पूर्व–पश्चिम राजमार्गको दुम्किबास–दाउन्ने खण्ड र विपी राजमार्गलगायत क्षेत्रमा तत्काल उपायहरू अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ। बैठकले औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानलाई समेत ध्यानमा राखेर आपत् व्यवस्थापनमा पार्टीका सम्पूर्ण कार्यकर्तालाई सक्रिय रहन निर्देशन दिएको छ।
बैठकले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पर्वत जिल्लाका वरिष्ठ नेता गणेश पौडेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ। त्यस्तै, स्थायी कमिटी सदस्य लालबाबु पण्डितकी जीवनसंगिनी तथा पार्टीकी निष्ठावान कार्यकर्ता विमला महतको असामयिक निधनप्रति पनि बैठकले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।