ट्रम्पको भनाइमा इजरायल-इरान युद्धविराम गर्न सहमत

काठमाडौं । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको छ । तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ ।
कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गरे । उनले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गरेका छन् ।
उनका अनुसार अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदमहरू अपनाउँदै समयमै सैनिक र कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरिएको थियो । यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण नभएको पुष्टि गरिएको छ । इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ । यो प्रहार अमेरिकी पक्षबाट शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको बताइएको छ ।
यसबीच खाडी क्षेत्रका विभिन्न मुलुकहरूले सुरक्षाको दृष्टिले हवाई मार्ग अस्थायी रूपमा बन्द गरेका छन् । कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन् ।कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन् ।
ट्रम्पको इरानलाई धन्यवाद !
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारमा पूर्वसूचना दिएर आक्रमण गरेकोप्रति इरानलाई धन्यवाद दिएका छन् । उनले तेहरानको जवाफलाई ‘एकदमै कमजोर’ समेत भनेका छन् । ‘प्रक्षेपित १४मध्ये १३ वटा मिसाइल अमेरिकी पक्षले रोक्न सफल’ भएको भन्दै उनले फेरि एकपटक अमेरिकाले इरानका आणविक स्थलहरु ध्वस्त पारेको दोहोर्याएका छन् ।
‘म खुसीसाथ जानकारी दिन चाहन्छु कि कुनै पनि अमेरिकीलाई चोटपटक पुगेको छैन र झण्डै कुनै क्षति पनि भएको छैन’, उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूले आफ्नो ‘झोंक’ फालिसकेका छन्, र आशा छ अब थप ‘घृणा’ हुने छैन ।’
ट्रम्पको दावी इजरायल-इरान युद्धविराम गर्न सहमत
ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका दाबी गरेका छन् । उनले दुई देशबीचको युद्धविराम सहमतिले अन्ततः युद्धको अन्त्यतर्फ डोहोर्याउने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ दिएका छन् । ‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ, जुन १२ घन्टासम्म कायम रहनेछ, त्यसपछि यो युद्ध अन्त्य भएको घोषणा गरिनेछ,’ उनले लेखेका छन् ।