इरानमाथि हमला गर्नेबारे ट्रम्प्ले अर्को हप्ता मात्रै निर्णय गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान द्वन्द्वमा अर्को दुई हप्ताभित्र अमेरिकी हमलाबारे निर्णय गर्ने राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसले बिहीबार आयोजना गरेको नियमित पत्रकार भेटघाटमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले अर्को दुई हप्ताभित्र इरानमाथि अमेरिकी सैन्य हमला गर्ने वा नगर्ने निर्णय गर्ने बताएकी हुन् ।
अमेरिकी सैन्य कारबाहीको बारेमा अन्तिम निर्णय गर्नुअघि कूटनीतिक प्रयासहरू बढाउने चाहनास्वरुप यो निर्णय गरिएको उनले बताएको बीबीसीले उल्लेख गरेको छ । “निकट भविष्यमा इरानसँग वार्ता हुने सम्भावनाको आधारमा, म अर्को दुई हप्ताभित्र हमला गर्ने वा नगर्ने निर्णय गर्नेछु,” राष्ट्रपति ट्रम्पको वक्तव्यमा उल्लेख छ ।
ट्रम्पले फोर्डो परमाणु केन्द्रमा आक्रमण गर्ने सैन्य योजना बनाइसकेका र यसलाई उनका सल्लाहकारहरूले इरानी परमाणु कार्यक्रमलाई दीर्घकालीन अमेरिकी संलग्नताबिनै नष्ट गर्ने मौका भएको बताएका छन् ।
तर, यसका कारण उनका सहयोगीहरूले मध्यपूर्वका अमेरिकी अड्डामा हमला वा होर्मुज स्ट्रेट बन्द हुनसक्ने डर देखाएका छन् । यसैबीच, अमेरिकी दूत स्टिभ विटकफ र इरानी अधिकारीहरूबीच गोप्य वार्ता जारी छ । तर, इरानले बमबारी जारी रहँदा वार्ता असम्भव भएको बताएको छ ।युरोपेली कूटनीतिज्ञहरूले तनाव कम गर्न आग्रह गरेका छन् । इरानले अमेरिकी संलग्नताले क्षेत्र नष्ट गर्ने चेतावनी दिएको छ । ट्रम्पको निर्णय इरानले युरेनियम समृद्धि छोड्छ वा छोड्दैन भन्नेमा निर्भर गर्छ ।