रास्वपाका सांसदले नीलो स्कार्प भिरेकोमा कांग्रेसको आपत्ति

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका छन्। जसका कारण सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरे ।

सभामुख घिमिरेले बैठक सुरु गर्ने बित्तिकै रास्वपाका सांसदहरूले विरोध गरेका थिए। त्यसपश्चात सभामुखले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिए। त्यसलगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाकासांसद अमर्यादित पोसाकमा संसद् बैठकमा आएको भन्दै आपत्ति जनाए।

रास्वपाका सांसदले नीलो कपडा बेरेर (स्कार्प) भिरेर आएकाले यो मर्यादित पोशाकमा यो पर्छ कि पर्दैन भन्दै उनले प्रश्न गरे। घिमिरेले प्रश्न गर्दै भने,‘कोही हाफ पाइन्ट लगाएर आउने, भोलि आफूखुसी कपडा लगाएर आए संसदीय मर्यादाभित्र राख्ने कि नराख्ने ?’

उनले नियमावली अनुसार कारबाही गर्न र संसदबाट निकाल्नसमेत आग्रह गरे। ‘नियमावली ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्नेछन्। र, चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ भनिएको छ। साथै बैठक कक्षबाट निष्कासन गर्न सक्नेसमेत व्यवस्था नियमको ३१ मा गरिएको छ। सभामुख महोदय, यस्तो किसिमको व्यवहार गर्नेलाई चेतावनी दिने र संसदबाट निष्कासित गर्ने कारबाही गर्ने आवश्यक छ।’

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल थालेका छन् ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर