जनार्दन शर्मालाई पार्टी छोड्नुस भनेर भनेकै छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टी छाड नभनेको बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार बिहान प्रचण्डले आफूले शर्मालाई पार्टी छाड भन्यो भनेर चलाइएको हल्ला गलत भएको जिकिर गरेका हुन्। जनार्दन शर्मालाई पार्टी छाड भन्नुभयो भयो रे नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘भनेकै छैन मैले, त्यो बेकारको कुरा हो। पत्याउनुभयो भने त्यो गल्ती गर्नुभयो।’ हालै सञ्चारमाध्यममा उनले शर्मालाई पार्टी छाड भनेको भनेर समाचार आएको थियो।
एक प्रश्नको उत्तर दिँदै प्रचण्डले भने, ‘जनताको बृहत् हितका निम्ति कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले सहमति गर्ने कहिले चाहिँ विद्रोह गर्ने यो सबै चलिराख्छ।’
माओवादी अध्यक्ष प्रचण्डले भने भिजिट भिसा प्रकरणमा एक महिनाभित्र समिति बनाएर जाने सहमति भएपछि अहिले सदन चालु गर्न मात्र सहमति गरेको दाबी गरे।
‘अहिले हामीले एकातिर संघीय निजामती ऐन छिटो भन्दा छिटो पारित गर्नु छ, लाखौँ शिक्षकहरूको मागलाई शिक्षासम्बन्धी ऐनलाई अन्तिम रूप दिनुपर्ने छ, टीआरसी सँग सम्बन्धित कैयौँ विषय अगाडि बढाउनु पर्नेछ, शनिबार विराटनगर विमानस्थलमा पत्रकारलाई जवाफ दिँदै उनले भने, उनले भने, त्यो सबैलाई हेरेर हामीले सहज बनाएका हौँ। केचैँ तपाईँहरू चाहनुहुन्थ्यो यो समातेर लगेको लगै गरेर सदन अवरुद्धै गर्दिएपछि देशको हित हुन्थ्यो?’
भिजिट भिसा प्रकरणमा अध्ययन, छानबिन गरेर आवश्यक नीतिगत संरचना सबै बनाउने र एक महिनाभित्र छानबिन समिति बनाउने भनेर संसद्मा गृहमन्त्रीले प्रतिबद्धता गरेपछि गरेको सहमतिलाई मुद्दा छाडेको भन्न नमिल्ने तर्क प्रचण्डले गरे।
तपाईँहरूका कारण गृहमन्त्रीले सदनबाट धम्क्याउने/तर्साउने काम गर्नुभयो नि भनी पत्रकारले गरेको प्रश्नमा उनले भने, ‘सदनमा उहाँले के के बोल्नुभयो त्यसको जिम्मेवार उहाँ (गृहमन्त्री) नै हो। हामीले भनेको के मात्रै हो भने छानबिन हुनुपर्छ। यो विषय धेरै गम्भीर छ। एउटा अहिलेको गृहमन्त्रीसँग मात्रै रिलेटेड पनि छैन, यो विषय यो धेरै पहिले देखिको अत्यन्त संवेदनशील विषयका रूपमा छ, त्यसकारण सुशासनका निम्ति यसको छानबिन हुनुपर्यो, अध्ययन गहिरो गरी हुनुपर्यो। सहमति बन्नु पर्यो भन्ने भएपछि अहिलेको आवश्यकताअनुसार देशको निम्ति जरुरी थियो।’
यस क्रममा उनले आफ्ना उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको हत्या मुद्दा मिलाउने सर्तमा कांग्रेस-एमालेसँग सहमति गरेको भन्ने आरोपलाई उनले वाहियात कुरा भने। प्रचण्डले भने, ‘वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्या छन्, त्यस्तो केही पनि होइन, यो कुरा र अग्नि (सापकोटा) को कुनै साइनो सम्बन्ध छैन।’