इजरायललाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीको कवच

काठमाडौं । मध्यपूर्वमा इरान र इजरायलबीच तनाव बढेपछि अमेरिका इजरायललाई सहयोग गर्न अगाडि आएको छ । यसैअन्तर्गत अमेरिकाले इरानको क्षेप्यास्त्र आक्रमण रोक्न इजरायललाई सहयोग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
रिपोर्टका अनुसार अमेरिकाले आफ्नो हवाई रक्षा प्रणाली र नौसेना स्रोतहरूको सहयोगमा इजरायललाई सहयोग गरिरहेको छ । अमेरिकाको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली र थाड प्रणाली मध्यपूर्वमा तैनाथ रहेको छ, जुन ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई रोक्न सक्षम छन् । यसैबीच, अमेरिकी नौसेना जहाजहरूले पनि अहिले इजरायललाई मद्दत गरिरहेका छ, यद्यपि यी जहाजहरूले क्षेप्यास्त्र प्रहार गरे वा केवल लक्ष्य ट्र्याकिङमा मद्दत गरे भन्ने स्पष्ट रहेको छैन ।
अमेरिकाले इरानको आक्रमण विरुद्ध र रोक्न धेरै महत्त्वपूर्ण कदम चालेको छ । यस अन्तर्गत, ट्रम्प प्रशासनले पश्चिमी भूमध्यसागरबाट अमेरिकाको युद्धपोत युएसएस थोमस हडनरलाई पूर्वी भागमा पठाएको छ, ताकि आवश्यक परेमा तत्काल मद्दत प्रदान गर्न सकियोस् । यससँगै, अर्को विनाशकारी जहाज पनि तयार राखिएको छ । यति मात्र होइन, अमेरिकी लडाकु विमानहरूले हाल उक्त क्षेत्रको निगरानी गरिरहेका छन् र एयरबेसमा सुरक्षा बढाइएको छ ।
बढ्दो तनावलाई ध्यानमा राख्दै, अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य शक्ति बढाएको छ । हाल मध्यपूर्वमा लगभग ४० हजार सैनिक तैनाथ छन्, जुन सामान्य संख्या ३० हजार हुने गर्दछन् । गत वर्ष अक्टोबरमा इरान र इजरायल बीचको तनाव र यमनका हुथी विद्रोहीहरूले आक्रमण गर्दा यो संख्या ४३ हजार पुगेको थियो ।
शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेर शुरु भएको यो नयाँ युद्धमा अहिलेसम्म अमेरिका सिधै सहभागी भने भएको छैन । तर अमेरिकाको सहयोग बिना इजरायलले इरानमाथि यति ठुलो आक्रमण गर्न नसक्ने विश्लेषण गरिएको छ ।
शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिदै अझ ठुलो नोक्सान बेहोर्नुपर्ने बताएका छन् । ट्रम्पले अमेरिकाले दिएको प्रस्तावमा सहमतिमा आउन इरानलाई आग्रह समेत गरेका छन् । ट्रम्पले यसअघि सो प्रस्ताव नमान्दा इरानले आफ्नो सेनाका शिर्ष नेतृत्व गुमाएको बताउदै सहमतिमा नआएमा नसोचेको नोक्सानी हुने चेतावनी दिएका छन् ।
शान्तिको बाटो हिंड्न संयुक्त राष्ट्र संघको अपिल
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् ।
‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनुपर्छ,’ उनले भनेका छन् । युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग सम्पूर्ण घटनाक्रमबारे कुराकानी गरेको बताएकी छन् ।
उनले यसबारे सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म पुनः दोहोर्याउँछु, इसराइलसँग आफ्नो र आफ्ना जनताको सुरक्षा गर्न पाउने अधिकार छ। तर, त्यससँगै क्षेत्रीय स्थायित्व कायम गर्नु पनि अत्यन्त आवश्यक छ।’