ट्रम्प र इलोन मस्कबीच सामाजिक सञ्जालमा चर्को भनाभन

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र एक समय उनका नजिकका मानिस टेस्ला प्रमुख इलोन मस्कबीच यतिबेला चर्काचर्की परिरहेको छ। सरकारी दक्षता विभाग (डज) छाडेपछि एकअर्काको आलोचनामा उत्रिएका दुई जनाबीच बिहीबार राति सामाजिक सञ्जालमा चर्को भनाभन भएको छ। यस क्रममा मस्कले ट्रम्पलाई महाभियोग लगाउनसमेत माग गरेका छन्। अनि उपराष्ट्रपति जेडी भान्सलाई राष्ट्रपति बनाउनुपर्ने टिप्पणी गरेका छन्।
यसैगरी मस्कले ट्रम्पको नाम जेफ्री एपस्टाइनसँग पनि जोडेका छन्। एपस्टाइन तिनै व्यक्ति हुन्, जो यौन दुर्व्यवहार र किशोरीको बेचबिखन मुद्दामा दोषी ठहर्याइएका छन्। मस्कले ट्रम्पको नाम एपस्टाइनका फाइलहरूमा रहेको दाबी गरेका छन्। यही कारण ती फाइल सार्वजनिक नगरिएको जिकिर उनले गरेका छन्। उता ट्रम्पले मस्कका कम्पनीसँग गरिएका सरकारी सम्झौता र दिने गरिएका अनुदान अन्त्य गर्ने चेतावनी दिएका छन्। साथै उनले मस्कलाई पागल भइसकेको समेत बताएका छन्। मस्कको पोस्ट, जसमा उनले जेडी भान्सलाई राष्ट्रपति बनाउन माग गरेका छन् ।