राजावादी आन्दोलनमा बुढाहरू आउट युवा इन

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठकमा हो-हल्ला भएको छ । आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा आज बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएपछि हो-हल्ला भएको हो । लिङदेन बैठकमा सहभागी नभएकोमा धेरै सहभागी असन्तुष्ट थिए ।
संसद् बैठकका कारण लिङ्देन उपस्थित हुन नसकेको भनेर बैठकको सुरुमै जानकारी गराइएको थियो त्यसका अतिरिक्त पनि धेरै नेताहरुले असन्तुष्टि जनाएका थिए । समीक्षा बैठक भएपनि पत्रकार सम्मेलनमा जस्तो सञ्चारकर्मीलाई पहुँच दिइएको विषय पनि उठेको थियो। शीर्ष नेता डराएर मिडियालाई बस्न दिएको कतिपय सहभागीले हो-हल्ला गरेका थिए ।
त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्ने समयमा हो-हल्ला भएपछि आन्दोलन समितिका संयोजक नवराज सुवेदीले माइक लिएर कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए । त्यसपछि युवाहरुले ‘बुढाहरू केही हुँदैन’ भन्दै छुट्टै बैठक गरेका थिए । संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह तथा अभियानका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । समितिले राजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै जेठ १५ गतेदेखि आन्दोलन गर्दै आएको छ । अब राजावादीहरूको आन्दोलन काठमाडौं केन्द्रित हुनुको सट्टा जिल्ला-जिल्लामा उन्मुख रहने छ ।