गायक तथा साहित्यकार गणेश रसिकको निधन

काठमाडौं । गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरको नेपाल क्यान्सर अस्पतालमा ३ घण्टाअघि रसिकको निधन भएको संगीतकार वसन्त मुकारुङले नेपाल प्रेसलाई बताए । मुकारुङका अनुसार रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिनेछ । अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।
७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । उपचारकै क्रममा भारत समेत गएका थिए । क्यान्सर अन्तिम स्टेजमा पुगेको भन्दै डाक्टरले उनलाई फर्काएका थिए । तर, नेपाल आएपछि उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गरेको बताउने गरेका थिए ।
भोजपुरमा जन्मिएका रसिकले नेपाली गीत, संगीत, साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । रसिकका क्षितिजलाई ‘छुन खोज्दा’ (कथासंग्रह २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (कथासंग्रह २०२७), ‘रसिकका गीतहरु’ (गीतसंग्रह २०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ (संस्मरण २०५५), ‘बिलाउँदै गएका गीत’ (कथासङ्ग्रह० २०५८), ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास २०६३), ‘स्वाधिनताको पीडा’ (गीतसङ्ग्रह २०६८) , ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७३) लगायत प्रकाशित छन् ।