वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. विमलको निधन

काठमाडौं ।  वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा. विमलको गएराति १२ः४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको परिवारजनले बताएका छन् ।

उहाँको निधनसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन् । डा.विमलको पार्थिव शरीर जनकपुरधाम–४ देवीचोकस्थित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न साहित्यकार, शिक्षाविद्, विद्यार्थी तथा शुभेच्छुकहरू निवासमा पुगिरहेका छन् ।

भाषाविज्ञानमा विद्यावारिधि गर्नुभएका डा. विमलले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गर्नुभएको थियो । उहाँले नेपाली, मैथिली र अङ्ग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाउनुभएको थियो । साहित्य सिर्जनासँगै अध्यापन तथा भाषा अनुसन्धानमा समेत उहाँको महत्त्वपूर्ण योगदान रहेको थियो ।

विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा आबद्ध हुनुभएका डा. विमलले लामो समय शिक्षण, अनुसन्धान र साहित्य सिर्जनामा बिताउनुभएको थियो । जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको नेपाली विभागमा समेत लामो समय अध्यापन गर्नुभएका उहाँ करिब चार दशकको प्राध्यापन यात्रापछि अवकाशप्राप्त हुनुभएको थियो ।

उहाँले साहित्यलाई सिर्जनामा मात्र सीमित नराखी भाषा, समाज र संस्कृतिको अध्ययनसँग समेत जोडेर अघि बढाउनुभएको थियो । उहाँका लेखनमा नेपाली तथा मैथिली समाजको सामाजिक, सांस्कृतिक र भाषिक परिवेशको प्रभाव स्पष्ट रूपमा पाइने साहित्य क्षेत्रका जानकारहरू बताउँछन् ।

साहित्य क्षेत्रमा अग्रणी स्रष्टाका रूपमा परिचित डा. विमलको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा ‘मिथिला मिहिर’ पत्रिकामा प्रकाशित भएको थियो । त्यसयता उहाँ कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य, अनुवाद तथा भाषाविज्ञानका क्षेत्रमा निरन्तर सक्रिय रहनुभएको थियो ।

उहाँका ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा. विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ तथा ‘फिस्टी रानी’लगायतका कृति प्रकाशित छन् । उहाँका रचना ‘गोरखापत्र’, ‘मधुपर्क’, ‘गरिमा’लगायतका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए ।

उहाँको कथामा आधारित ‘हंसा चलल परदेश’ नामक मैथिली टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । यसले मैथिली साहित्यलाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक पाठक तथा दर्शकमाझ पुर्‍याउन योगदान गरेको जनकपुरधामका साहित्यकार तथा पत्रकार नित्यानन्द मण्डलले बताउनुभयो ।

साहित्य तथा भाषा क्षेत्रमा पुर्‍याएको योगदानका लागि डा. विमल विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुभएको थियो । उहाँ विद्यापति पुरस्कार कोषद्वारा स्थापित ‘नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार’का पहिलो प्राप्तकर्ता हुनुहुन्थ्यो । यसका अतिरिक्त उहाँ गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धि श्री पुरस्कारलगायतका सम्मानबाट विभूषित हुनुभएको थियो ।

साहित्यकार मण्डलका अनुसार उहाँको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीडा, प्रेम, वियोग, आक्रोश र विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ । नेपालभित्रको मिथिला र मिथिलावासीको सामाजिक यथार्थलाई मौलिक शैलीमा प्रस्तुत गर्नु उहाँको लेखनको विशेषता मानिन्छ ।

सन् १९४७ जुलाई २६ मा धनुषा जिल्लाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मिनुभएका डा। विमलले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर तथा भाषाविज्ञानमा विद्यावारिधि गर्नुभएको थियो । साहित्यकार डा. विजय दत्तका अनुसार डा. विमलको पार्थिव शरीरको आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ । यसैबीच, मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. विमलको निधनप्रति साहित्यकार तथा पत्रकारहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर