सदनमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्ने मुडमा गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिहेका प्रतिनिधिसभाका विपक्षी दलहरूको अवरोधका कारण आज पनि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । त्रिभुवन विमानस्थल अध्यागमन शाखामा भिजिट भिसा प्रकरणमा नाम मुछिएको भन्दै निष्पक्ष छानविनका लागि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै आएका छन् । विपक्षीहरूको अवरोधका कारण सदनमा उक्त प्रकरणबारे स्पष्टीकरण दिन नपाएका मन्त्री लेखक आफ्ना भनाइ स्पष्ट पार्न पत्रकारहरूमाझ जाने तरखरमा रहेको बताइएको छ ।
लेखकनिकट स्रोतका अनुसार अहिले पनि संसद् भवनमा लेखकले बोल्न पाउने वातावरण बनाउन छलफल चलिरहेको छ । तर, विपक्षी दलहरू उनलाई संसद्मा बोल्न नदिनेमा अडिग छन् । विपक्षीहरूका अवरोधका कारण आधा घन्टाका लागि स्थगित गरिएको भनिएतापनि प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।