प्रधानमन्त्रीलाई कांग्रेसले कहिलेसम्म छुट दिने ? डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा सोमबार बिहान भएको पदाधिकारी बैठकमा आफूबारे केन्द्रित रहेको सुन्दा अचम्म लागेको बताएका छन् ।
विराटनगरमा हिजो मंगलबार आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटन गर्दै कोइरालाले भने, ‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, प्रधानमन्त्रीले जेठ १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनबारे छलफल होला भनेको त मेरैबारे मात्रै कुरा भएछ।’
कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेटको भाषा बोल्दासमेत कांग्रेसले आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए । कोइरालाले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यस पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने पनि बताएका छन् ।
‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे-जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?’, कोइरालाले प्रश्न गरे । पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्सिँदै गएकोमा पनि उनले चिन्ता व्यक्त गरे ।