माओवादीसँग नेपाल समाजवादी र नेपाः राष्ट्रिय पार्टी एकता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। आज सोमबार खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा बसेको बैठकले उक्त दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
त्यसै निर्णयअनुसार, आजै गङ्गानारायण श्रेष्ठ नेतृत्वको समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग एकता हुनेछ। बैठकले सुदूरपश्चिम प्रदेशको बैतडीबाट शुरु भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ। गण्डकी प्रदेशको कास्कीमा पुगेर पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै प्रवक्ता सापकोटाले छिट्टै पोखराबाट पूर्वतर्फ अभियान सुरू गरिने बताए।