चेन्नई सुपर किङ्गस र सनराइजर्स हैदराबाद विजयी

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा हिजो भएका खेलमा चेन्नई सुपर किङ्गस र सनराइजर्स हैदराबाद विजयी भएका छन् । हिजोको पहिलो खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ८३ रनले हरायो । चेन्नईले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८ ओभर तीन बलमा एक सय ४७ रनमा अलआउट भयो ।

त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो । हिजो खेल हारे पनि शीर्ष स्थानमा रहेको गुजरात यस अघि नै प्लेअफमा पुग्न सफल भएको थियो । गुजरातको १४ खेलमा १८ अङ्क छ । चेन्नई यसअघि नै प्लेअफमा पुग्न असफल भएको थियो । १४ खेलमा चेन्नईको आठ अङ्कसहित तालिकाको पुछारमा छ ।

यस्तै हिजै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई एक सय १० रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय ७९ रनको ठूलो लक्ष्य पछ्याएको कोलकाता १८ ओभर चार बलमा एक सय ६८ रनमा अलआउट भयो । त्यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको हैदराबादले तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । उसका लागि हेनरिक क्लासेनले ३९ बलमा एक सय पाँच रन बनाउँदै नटआउट शतकीय पारी खेले ।

हैदराबाद र कोलकाता यस अघि नै प्लेअफ पुग्न असफल रहे । हैदराबादले १४ खेलमा १३ अङ्कसहित तालिकाको छैटौं स्थानमा रहँदै सिजन टुङ्ग्याएको छ । कोलकाता भने १४ खेलबाट १२ अङ्कसहित आठौं स्थानमा सिमित रह्यो । अब आईपीएल क्रिकेटमा लिग चरणका दुई खेल मात्र बाँकी छन् । आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स तथा भोलि लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर