भारतीय सुरक्षा बल र आतंकवादीबिच मुठभेड जारी

काठमाडौं । जम्मू–कश्मीरको किश्तवाडमा सुरक्षा बल र आतंककारीहरूबिच मुठभेड भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सेनाले जम्मू–कश्मीरको किश्तवाडमा सुरक्षा बल र आतंककारीहरूबिच जम्मू–कश्मीर प्रहरीसँगको संयुक्त कारबाहीमा सुरक्षा बलले चतरु क्षेत्रमा आतंककारीहरूलाई घेरेर कारवाही जारी राखेको जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरक्षा बलले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको छ । भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आतंककारीविरुद्धको कारबाही जारी छ र थप सुरक्षा बलहरू पनि घटनास्थलमा पठाइँदैछ।”
यसैबीच भारत–पाकिस्तान सीमामा भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले पाकिस्तानी चौकी ध्वस्त पारेका छन् । बीएसएफले पाकिस्तानी चौकी ध्वस्त पारेका तस्बिरहरू सामाजिक सञ्जाल एक्समा साझा गरेको थियो ।
जम्मूमा भारत–पाकिस्तान सीमामा भएको एक कारबाहीमा बीएसएफले पाँच पाकिस्तानी चौकी र एउटा आतंकवादी लन्च प्याड ध्वस्त पारेको हो। यद्यपि, यो अपरेशन कुन दिन गरिएको थियो भन्ने कुराको खुलासा गरिएको छैन। बीएसएफ अधिकारीले हिजो बुधबार अपरेशनको बारेमा जानकारी दिएका हुन् ।
बीएसएफ कमान्डेन्ट चन्द्रेश सोनाले भने, ‘हामीले पाकिस्तानबाट भएको गोलीबारीको उचित जवाफ दियौँ । हामीले उनीहरूका धेरै सम्पत्तिहरू नष्ट गर्यौं। मस्तपुरमा एउटा आतंकवादी लन्च प्याड थियो, जुन हामीले ध्वस्त पार्यौं ।’ उक्त कारबाहीमा उनीहरूका पाँच वटा पोस्ट र धेरै बंकरहरू ध्वस्त भएको उनले बताए । उनले भने, “अपरेशन सिन्दूरदेखि पाकिस्तानले लगातार भारतीय भू-भागलाई निशाना बनाउँदै आएको छ ।”