गाजामा इजरायली भीषण आक्रमणबाट २२ जनाको मृत्यु

काठमाडौं । गाजामा सोमबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सेनाले आक्रमण तीव्र पारेको गाजाका उद्धारकर्ताहरूले बताएका छन् । गाजाका नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले गाजाको मुख्य शहर र वरपर निरन्तर आक्रमणहरू भएको र खान युनिसमा ११ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताएको छ ।
जबलिया शहरको पश्चिममा रहेको बजार नजिकै भएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको उनले बताए । मध्य गाजाको नुसेइराटस्थित पसलमा भएको हवाई आक्रमणमा एउटै परिवारका तीन जनाको मृत्यु भएको र उत्तरी गाजा शहरको एउटा पसलमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।
बेइत लाहियाको अस्पतालमा पनि मृत्युको खबर आएको तर निरन्तर भएको बम विस्फोटका कारण शवको उद्धार हुन नसकेको बासलले बताए । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनालाई घेराबन्दी गरेको आरोप लगाउँदै अस्पताललाई सेवा प्रवाहमा असर पारी सेवा ठप्प पार्न बाध्य पारेको जनाइएको छ ।
गाजामा जति बचेको छ, त्यो सबै समाप्त पारिने : इजरायली अर्थमन्त्री
यसैबीच इजरायलका अर्थमन्त्री बेजेलेल स्मोट्रिचले गाजामा जति बचेको छ, त्यो सबै समाप्त पारिदिने बताएका छन् । इजरायली सेनाले गाजामा भीषण स्थल कारबाही सुरु गरेपछि उनको यो भनाइ बाहिर आएको हो । बीबीसीका अनुसार उनले भनेका छन्, ‘इजराइली सेनाले गाजामा जे बचेको छ, त्यो सबै खत्तम गरिरहेको छ ।’
पत्रकार सम्मेलनमा उनले गाजामा सीमित खानेकुरा पठाइएको उल्लेख गर्दै त्यो हमाससम्म नपुग्ने दाबी गरेका छन् । उनले केही खानेकुरा गाजामा पठाइएको तर त्यो हमासलाई नदिइने बताए । उनले आवश्यक मात्र सामान आम मानिससम्म पुग्ने भन्दै संसारले इजरायललाई युद्ध अपराधको आरोप नलगाओस् भनेर त्यसो गरिएको बताए । उनले भने, ‘आगामी दिनहरूमा गाजामा निकै सीमित सहायता पुग्नेछ । केही बेकरी, केही रोटी बाँडिनेछ । सार्वजनिक भान्सामा एकपटक पाकेको खाना वितरण गरिनेछ ।’