सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौं । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यस अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/८३ कोलागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ ।
सोह्रौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजेको लागि आह्वान गरिएको छ । तर, आइतबार बसेको सर्वदलीय बैठकमा राजनीतिक सहमति नजुट्दा बैठक सञ्चालनमा अन्योलता देखिएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको पहलमा बसेको हिजोको सर्वदलीय बैठक कुनै ठोस निष्कर्ष बिना सकिएको थियो ।
सरकारले विगतमा गरेको सहमति कार्यान्वयन गर्नुपर्ने, विवादास्पद रुपमा हिउँदे अधिवेशन अन्त्यका विषयमा सदनलाई स्पष्ट जवाफ दिनुपर्ने, प्रतिपक्षीलाई सरकारले गर्नुपर्ने व्यवहारमा सुधार ल्याउनुपर्ने लगायतका विषयमा छलफल भएपनि सहमति जुट्न नसकेको माओवादी केन्द्रका सचेतक रत्न ढकालले बताए ।
उनले भने, “यही अवस्थामा आजको सदन चल्न मुस्किल छ । मंगलबार बिहान पुनः सर्वदलीय बैठक बस्दैछ । त्यसमा पनि सहमति जुट्न नसके शुभकामना दिएपछि सदन अवरुद्ध हुन्छ ।”
सर्वदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सहभागी थिए । बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व रहेको छ । नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी बैठकमा सहभागी थिएनन् ।