पूर्वी कङ्गोमा आएको बाढीबाट ११९ जनाको मृत्यु

काठमाडौं ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

मुसलधारे वर्षाका कारण बिहीबार–शुक्रबार राति सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले भौतिक संरचनाका साथै व्यापक मानवीय क्षति पुगेको क्षेत्रीय अधिकारी बर्नार्ड अकिलीले एएफपीसँग बताए  । मुसलधारे वर्षाका कारण कासाबा नदीको किनारबाट रातिको समयमा वरपरका खाली ठाउँमा रहेका ढुङ्गा, ठूला रूख र माटो बगाएर खोलामा ताल बनेको र सोही तालको किनारामा रहेका घरहरू भत्किएका उनले बताए ।

“मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन्”, उनले भने, “विपत्का कारण एक सयभन्दा बढीको मृत्यु भएको, २८ जना घाइते भएका र करिब १५० घर भत्किएका छन् ।” क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण कम्तीमा १०४ जनाको मृत्यु भएको र व्यापक भौतिक क्षति भएको बताएको छ । अर्का एक स्थानीय बासिन्दाले एएफपीलाई बताएअनुसार शनिबारसम्म ११९ जनाको शव फेला परेको छ ।

टाङ्गानिका तालको छेउमा रहेको र तालबाट मात्र पुग्न सकिने उक्त गाउँमा इन्टरनेट सेवा नभएको एक स्थानीय मानवीय सहायताकर्मीले बताए । प्रजातान्त्रिक गणतन्त्र कङ्गाका विशेष गरी पूर्वमा ठूला तालहरूको किनारमा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार हुने गरेका छन् । सन् २०२३ मा दक्षिण किवु प्रान्तको किवु तालको किनारमा रहेका विभिन्न समुदायका करिब ४०० जनाको बाढीका कारण मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर