भारत र पाकिस्तान युद्ध विराम गर्न सहमत

काठमाडौं । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन्। दुवै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन्। भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन्।

मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ।

विदेशमन्त्री मिश्रीले भने, ‘पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) र भारतीय डीजीएमओबीच आज अपराह्न फोनवार्ता भएको र उनीहरुबीच भारतीय समय अनुसार साँझ पाँच बजेदेखि जमिन, आकाश र समुद्रमा सबै प्रकारका गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको छ।’

उनले भने, ‘दुवै पक्षलाई आजैदेखि यो समझदारीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ। सैन्य अपरेसनका महानिर्देशकहरूबीच मे १२ मध्याह्न १२ः०० बजे फेरि कुरा गर्नेछन्।’

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पनि युद्धविरामको पुष्टि गर्दै भने, ‘पाकिस्तान र भारत तत्काल लागू हुनेगरी युद्धविराम गर्न सहमत भएका छन्।’ उनले भने, ‘पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि सधैं प्रयास गर्दै आएको छ।’

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देश तटस्थ स्थलमा व्यापक विषयमा वार्ता सुरु गर्न सहमत भएको बताएका थिए।

अमेरिकी विदेशमन्त्री रूबियोले भने, ‘बितेका ४८ घण्टामा उपराष्ट्रपति भान्स र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ, भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनीर, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र असिम मलिकलगायत भारत र पाकिस्तानका वरिष्ठ अधिकारीसँग कुराकानी गरेका छौँ।’

उनले अगाडि भने, ‘भारत र पाकिस्तानका सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थलमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ। हामी प्रधानमन्त्री मोदी र सरिफलाई शान्तिको बाटो रोज्ने बुद्धिमत्ता, विवेक र राजनेताको प्रशंसा गर्दछौँ।’

युद्ध विरामपछि एस जयशंकरको भनाइ

भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भारत र पाकिस्तानले तत्काल युद्धविराममा सहमति जनाएको बताएका छन् । उनले भारत र पाकिस्तानबीच गोलाबारी र सैन्य कारबाही रोक्ने सम्झौता भएको बताए । भारतीय विदेशमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्- ‘भारतले आतंकवादका सबै रूप र अभिव्यक्तिविरुद्ध निरन्तर कडा र दृढ अडान लिएको छ र त्यसो गरिरहनेछ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलको एक पोस्टमा ‘तत्काल र पूर्ण युद्धविराम’ सम्बन्धी सम्झौताको बारेमा जानकारी दिएका थिए । त्यसपछि पाकिस्तानका उपप्रधानमन्त्रीले पनि सामाजिक सञ्जालमा यसको पुष्टि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर