भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानको ‘अपरेशन ‘बुनयान-उल-मरसूस’ सुरु

काठमाडौं । भारतले पाकिस्तानको तीनवटा सैन्य अड्डामा आक्रमण गरेपछि त्यसको प्रतिकारमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेशन ‘बुनयान-उल-मरसूस’ सुरु गरेको जनाएको छ । उक्त जवाफी कारबाहीको लक्ष्य भारतीय सैन्य स्थलहरू रहेको पाकिस्तानी सेनाले बताएको छ ।यो अपरेशनको नाम कुरानको एक आयतबाट लिइएको हो, जसको अर्थ ‘अटूट पर्खाल’ वा ‘ठोस आधार’ हुन्छ । इस्लामी सन्दर्भमा यसलाई एकता, अनुशासन र संकल्पको प्रतीकको रूपमा लिइन्छ ।
पाकिस्तानी सरकारी मिडियाले दाबी गरेअनुसार पाकिस्तानको कारबाहीमा भारतको ७० प्रतिशत बिजुली ग्रिड साइबर आक्रमणको कारण असक्षम भएको छ । सरकारी मिडिया पिटिभी न्युजले यो खबर ‘अपरेशन बुनियान मरसुस’ अन्तर्गत गरिएको साइबर आक्रमणले भारतको बिजुली प्रणाली ध्वस्त भएको बताएको हो । एक्समा प्रकाशित पोस्टमा भनिएको छ, ‘भारतमा अन्धकार छाएको छ ।’
यसैबीच पाकिस्तानले लगातार तेस्रो रात जम्मू–कश्मीर तथा राजस्थान सम्म ड्रोन तथा मिसाइल हमला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि भारतले ‘एअर डिफेन्स सिस्टम’ ले उनीहरूको हमला निःस्तेज पारेको दाबी गरेको छ। पाकिस्तानले भारतका २६ स्थानमा ड्रोन हमला गरेको जनाएको छ।
यसैगरी भारतले १५ मे सम्म ९ राज्यका ३२ एअरपोर्टहरू बन्द गरेको छ। जसमा जम्मूकश्मीर, लद्दाख, हिमाञ्चल, पञ्जाब, चण्डीगढ, राजस्थान, हरियाणा, गुजरात, उत्तर प्रदेशलगायत स्थानमा अवस्थित विमानस्थलहरू रहेका छन्।