अमेरिकी रोबर्ट प्रिभोस्ट बने नयाँ पोप

काठमाडौं । अमेरिकी रोबर्ट प्रिभोस्ट नयाँ पोप बनेका छन् । क्याथोलिक चर्चको नेताको रूपमा चयन भएका प्रिभोस्ट, पोप लियो चौधौंको रूपमा चिनिने छन् । ६९ वर्षीय प्रिभोस्टलाई सेन्ट पिटर्स स्क्वायरमा भेला भएका हजारौं मानिसहरूले स्वागत गरेका छन् । त्यस क्रममा उनले भ्याटिकन बाल्कनीबाट सबैसँग शान्ति रहोस् भने । शिकागोमा जन्मेका प्रिभोस्टलाई एक सुधारकको रूपमा हेरिन्छ । आर्कबिशप बन्नुअघि उनले पेरुमा धेरै वर्षसम्म मिसनरीको रूपमा काम गरेका थिए ।
विश्वका नेताहरूले पोप लियो चौधौंलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पोप पाउनु ठूलो सम्मान भएको बताए । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनले पनि पोप लियो चौधौंले पहिलो अमेरिकी पोपको रूपमा इतिहास रचेको देखेर आफू खुशी भएको बताए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नयाँ पोपलाई बधाई ज्ञापन गर्दै भ्याटिकनको निरन्तर नैतिक र आध्यात्मिक समर्थनको आशा व्यक्त गरेका छन् ।