राज्यले अत्यधिक दमन गरेको सांसद शाहीको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तीनकुने घटनामा मानव अधिकारको उल्लङ्घन भएको पुष्टि भइसकेको भन्दै न्यायिक छानबिन समिति गठनको माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद शाहीले ४० दिनदेखि रविन्द्र मिश्रसहितका व्यक्तिहरू थुनामा रहेको उल्लेख भन्दै राज्यले अत्यधिक दमन गरिरहेको आरोप लगाए । उनले पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकारले सविन महर्जनको गोली हानेर मारिँदा समेत मौन बसेको भन्दै आपत्ति जनाए ।
‘‘सरकारले राज्य आतङ्क अत्यधिक ज्यादा गरेको छ । ४० दिनदेखि रविन्द्र मिश्र लगायतका साथीहरु आजपनि थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकारसम्बन्धी संघ संगठनहरुले राज्यले मानव अधिकारको गम्भीर र ठाडो उल्लङ्घन गरेको भनेर पुष्टि समेत गरिसकेको छ’’, उनले भने, ‘‘तर राज्य थुनिराखेको छ । राज्यलाई म सोध्न चाहन्छु, पोखरामा बेलुन पड्किँदासम्म तिमीहरु न्यायिक छानविन समिति बनाउनेले दिनदहाडै सविन महर्जनलाई टाउकोमा गोली हानेर हत्या गर्नेलाई किन न्यायिक छानविन समिति बनाउँदैन ? न्यायिक छानविन समिति आवश्यक छ ।’’
उनले थुनामा रहेका राप्रपा नेताहरुलाई तत्काल छोड्नसमेत सरकारको ध्यानाकर्षण गरे ।
