रियल मड्रिडको सेल्टा भिगोविरुद्ध ३–२ को जित
काठमाडौं । केलियन एमबाप्पेले दुवै हाफमा गोल गर्दै आइतबार सेल्टा भिगोविरुद्ध रियल मड्रिडलाई ३–२ को जित दिलाएका छन् । रियलका लागि अर्डा गुलेरले पनि गोल गरे ।
दोस्रो हाफको सुरुमै ३–० को अग्रता बनाएको रियल अन्त्यतिर दबाबमा परे पनि जित जोगाउन सफल रह्यो । ७८औँ मिनेटमा पाब्लो डुरानको प्रहार गोललाइनमै रोकिएको थियो । गोलरक्षक थिबाउ कोर्टुवाले अन्तिम समयमा दुई उत्कृष्ट बचाउ गर्दै रियललाई जित दिलाए । यो जितसँगै रियल बार्सिलोनाभन्दा चार अंकले पछि रहँदै ला लिगाको उपाधि दौडमा कायम छ ।
दुवैबीचको अन्तिम ‘एल क्लासिको’ खेल आइतबार बार्सिलोनामा हुनेछ । शनिबार बार्सिलोनाले भालाडोलिडलाई २–१ ले पराजित गरेको थियो । प्रशिक्षक हान्सी फ्लिकले च्याम्पियन्स लिग सेमिफाइनलअघि नियमित खेलाडी विश्राममा राखेका थिए ।
पहिलो लेगमा बार्सिलोना र इन्टर मिलान ३–३ को बराबरीमा रोकिएका थिए । रियलको यो ला लिगामा लगातार चौथो जित हो । हालैका साता रियल कोपा डेल रे फाइनलमा बार्सिलोनासँग र च्याम्पियन्स लिगमा आर्सेनलसँग पराजित भएको थियो ।
