गुजरातले हैदरावादलाई ३८ रनले हरायो

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादमाथि महत्वपूर्ण जित दर्ता गरेको छ । गएराति भएको खेलमा गुजरातले हैदरावादलाई ३८ रनले स्तब्ध बनाएको हो ।
गुजरातले दिएको २२५ रनको लक्ष्य पछ्याएको हैदरावाद २० ओभरमा ६ विकेट गुमाएर १८६ रनमै समेटियो । हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ७४ रनको योगदान दिए । यस्तै, हेनरिक क्लासेनले २३ र ट्राभिस हेडले २० रन जोड्दा नितेशकुमार रेड्डी २१ र कप्तान प्याट कमिन्स १९ रनमा अविजित रहे । बलिङमा गुजरातका लागि प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले समान २/२ लिए ।
त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ३८ बलमा १० चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७६ रन जोडे । यसैगरी जोस बटलरले ३७ बलमा तीन चौका र चार छक्काको सहयोगमा ६४ रनको पारी खेले ।
यस्तै, साई सुदर्शनले २३ बलमा ९ चौकासहित ४८ रन जोडे । हैदरावादका लागि जयदेव उनादकटले दुई तथा जीशान अन्सारी र कप्तान प्याट कमिन्सले समान एक एक विकेट लिए । जितसँगै गुजरात १० खेलबाट १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता १० खेलमध्ये सातौँ हार ब्यहोरेको हैदरावादको भने प्लेअफको सम्भावना लगभग समाप्त भएको छ ।