घातक बलिङमा मुम्बईको शानदार जित

काठमाडौं ।  कर्ण शर्मा र ट्रेन्ट बोल्टको कसिलो बलिङ प्रदर्शनले मुम्बई इन्डियन्सलाई आईपीएल २०२५ को एक महत्त्वपूर्ण खेलमा राजस्थान रोयल्समाथि १०० रनको विशाल जित दिलाएको छ। यस पराजयसँगै रियान परागको कप्तानीमा रहेको राजस्थान प्लेअफको दौडबाट बाहिरिने दोस्रो टिम बनेको छ। यसअघि चेन्नई सुपर किंग्स पनि प्लेअफबाट बाहिरिसकेको थियो।

बिहीबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। जवाफी इनिङ्समा राजस्थान १६.१ ओभरमै जम्मा ११७ रनमा अलआउट भयो। यो पराजय राजस्थानको आईपीएल इतिहासको दोस्रो ठूलो हार हो।यसअघि २०२३ मा आरसीबीले उसलाई ११२ रनले हराएको थियो। यस जितसँगै मुम्बई इन्डियन्सले अंक तालिकामा शीर्ष स्थान कब्जा गरेको छ।

मुम्बईले ११ खेलमध्ये ७ जित निकाल्दै १४ अंक जोडेको छ। दोस्रो स्थानमा आरसीबी, तेस्रोमा पंजाब र चौथोमा गुजरात रहेका छन्। राजस्थान ८ औं स्थानमा झरेको छ । २१८ रनको लक्ष्य पछ्याउँदै राजस्थानले खराब सुरुवात गर्‍यो। उसका अधिकांश ब्याट्सम्यान सस्तैमा पवेलियन फर्किए। जोफ्रा आर्चरले सबैभन्दा धेरै ३० रन बनाए।

यशस्वी जैसवालले १३, नीतीश राणाले ९, ध्रुव जुरेलले ११, शुभम दुबेले १५ रन बनाए भने अरू ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन्। मुम्बईका लागि ट्रेन्ट बोल्ट र कर्ण शर्माले समान ३ विकेट लिए। जसप्रीत बुमराहले २ विकेट तथा दीपक चाहर र हार्दिक पाण्ड्याले १-१ विकेट लिए। मुम्बईका लागि ओपनर रेयान रिकेल्टन र रोहित शर्माले उत्कृष्ट सुरुवात गरे। उनीहरूबीच शतकीय साझेदारी भएको थियो।

रिकेल्टनले ३८ बलमा ६१ रन बनाए भने रोहितले ३६ बलमा ५३ रन बनाए। त्यसपछि सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले समान ४८-४८ रनको आक्रामक पारी खेले। राजस्थानका लागि महीश तीक्षणा र रियान परागले १-१ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर