आईपीएलमा दिल्लीले लखनउलाई आठ विकेटले हरायो

 काठमाडौं ।  इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराएको छ । यो संगै दिल्लीको प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो ।

दिल्लीका लागि लोकेश राहुल (केएल)ले ५७ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे । उनले कप्तान अक्षर पटेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । पटेलले २० बलमा ३४ रन जोडे । प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे । लखनउका आइडन म्याक्रमले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पहिलो १० ओभरमा ८७ रन बनाउँदै १ विकेट गुमाएको लखनउलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका मुकेश कुमारले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए ।

लखनउका म्याक्रमले ३३ बलमा ५२ रज जोडे । मिचेल मार्सले ३६ बलमा ४५ रनको योगदान गरे । आयुश बडानीले २१ बलमा ३६ रन बनाए । सातौँ क्रममा झरेका ब्याट्सम्यान ऋषभ पन्त दुई बलमा कुनै रन नजोड्दै आउट भए । उनले पारीको अन्तिम दुई बल सामना गरेका हुन् । दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर