चेन्नई सुपर किंग्सद्वारा पञ्जाब किंग्स २८ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई २८ रनले पराजित गरेको छ। चेन्नईको यो पञ्जाबसँग आइपिएलमा पाँच हारपछिको पहिलो जित हो। धर्मशालामा आइतबार भएको दिनको पहिलो खेलमा चेन्नईले पञ्जाबलाई पराजित गर्दै ‘प्लेअफ’मा आफ्नो सम्भावना बलियो बनायो। जितसँगै चेन्नई अङ्क तालिकाको तेस्रो स्थानमा उक्लियो। चेन्नईको ११ खेलबाट १२ अङ्क भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। उसका लागि रविन्द्र जडेजाले अलराउन्डर प्रदर्शन गरे। उनले चेन्नईका लागि सर्वाधिक ४३ रन बनाउँदा ऋतुराज गायकवाडले ३२ तथा ड्यारी मिचेलले ३० रन बनाए। थप दोहोरो स्कोरका रुपमा मोइन अली र शार्दुल ठाकुरले समान १७ रन बनाएका थिए।
चेन्नईलाई मध्यम स्कोरमा समेट्ने क्रममा राहुल चाहर र हर्षल पटेलले समान ३ विकेट लिएका थिए भने अर्शदीप सिंहले २ विकेट लिएका थिए।१ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाब खराब ब्याटिङको सिकार भयो। पञ्जाब निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। उसका लागि प्रभसिम्रन सिंहले ३० रन बनाउँदा शशांक सिंहले २७ तथा हरप्रित ब्रारले १७ रन बनाएर नटआउट रहे। त्यस्तै, हर्षल पटेलले १२ रन बनाउँदा राहुल चहरले १६ रन बनाए। कागिसो रबडा ११ रनमा नटआउट रहे। चेन्नईको जितमा रविन्द्र जडेजाले ३ विकेट लिँदा सिमर्जित सिंह र तुषार देशपाण्डेले २–२ विकेट लिएका थिए। शार्दुल ठाकुर र मिचेल स्यान्ट्नरले १–१ विकेट लिएका थिए।
