सत्तागठबन्धनमा खैलाबैला, प्रचण्ड, ओली र लामिछानेबिच गम्भीर छलफल
काठमाडौं । सत्ता गठबन्धनमा आइतबार साँझ खैलाबैला उत्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबिच पटक-पटक भएको राजनीतिक भेटघाटपछि गठबन्धनमा खैलाबैला उत्पन्न भएको हो । दुई विपक्षी दलका तेताहरूबिच भएको बाक्लो भेटलाई बाहिर संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा केन्द्रित भएको भनिएतापनि असलमा एमाले माओवादी र रास्पा सम्मिलित सरकार बनाएर समीकरण बदल्ने रस्साकसी सुरु भएको माओवादीका एक नेताले बताएका छन् । अहिले साँझ पनि एमाले अध्यक्ष ओली, रास्वपाका सभापति लामिछानेबिच बालुवाटारमा विशेष बैठक भइरहेको बताइन्छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको दौडधुप बढेको हो। राष्ट्रियसभाको अध्यक्षमा माओवादीले दावी गरेपश्चात् गठबन्धनका प्रमुख साझेदार नेपाली कांग्रेस अप्ठेरोमा पर्दै आएको छ ।
आजै कांग्रेस, एमाले र माओवादीबिच छलफल भएको थियो। उक्त छलफलपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बोलाएर आफ्नो निवास बूढानीलकण्ठमा छलफल गरेका छन्। अहिले मन्त्रीहरु फेरेर यही गठबन्धनलाई निरन्तरता दिने वा समीकरण नै परिवर्तन गर्ने भन्ने चर्चा बाहिर आएका छन्। यसैबीच गठबन्धनको बैठक भोलि सोमबारका बोलाइएको छ । मन्त्री फेरिने चर्चाबिच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण रद्द गरिएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।
विपक्षी दलका नेता ओलीले आफ्नै पार्टीका सांसदहरूलाई आइतबार अपराह्न आवश्यकता परेमा जुनसुकै बेला एमाले सत्ता समीकरणमा सामेल हुने भनी दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिइएकाले आइतबार साँझको प्रधानमन्त्रीसँगको ओली र लामिछानेको बैठकले अचानक गति लिएको बताइन्छ ।
