नेसपाको पार्टी दस्ताबेज लेखन कार्य सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन कार्य सुरु गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी तोकिएको छ भने नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्ताव संयोजनका लागि कार्यविभाजन गरिएको छ ।
सबै दस्ताबेजका मस्यौदामाथि छलफल गर्न यही फागुन २७ गते बैठक बोलाइएको छ । चारवटै विषयमा प्रतिवेदन तयार भएपछि एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने जनाइएको छ । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, वर्तमान सङ्कटको वस्तुगत विश्लेषण र समाधानका लागि सङ्गठनात्मक कार्यदिशाबारे दस्तावेजमा समावेश गरिने समझदारी गरिएको छ ।
पार्टीका सचिव जीवनराम श्रेष्ठका अनुसार मस्यौदामाथि सुझाव सङ्कलन गर्न मस्यौदा जिल्ला तहका कार्यकर्तालाई पठाइसकेको छ । सुझाव समावेश गरी तयार गरिने दस्तावेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गर्ने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा रणनीति दस्तावेजमा समावेश गरिनेछ ।
