पूर्वमा पहिचानवादीहरूको धरपकड, यातायात ठप्प
काठमाडौं । देशभक्त समाजवादी मोर्चाका संयोजक तथा संयुक्त संघर्ष समितिका नेता गोपाल किराँतीलगायत चार जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप यातायात बन्द गराउन उत्रिएका नेता राईलगायत राजेश राई, गन्धमान राई र विजय राईलाई हलेसीबाट नियन्त्रणमा लिएका हुन् ।
पहिचान पक्षधर समूहले आज मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्द आव्हान गरेका थिए । नियन्त्रणमा परेका सबैलाई तत्काल रिहाइ गर्न पहिचानवादी युवा परिचालन समितिका संयोजक निर्मल राईको माग रहेको छ । समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी छ । त्यसकै विरोधमा एक नम्बर प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्गअन्तरगत उदयपुरको घुर्मी र धनकुटाको लेगुवाघाट सडक बन्दको आव्हान गरेको हो ।
बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीको सार्वजनिक सवारीसाधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत समूहले गए राति खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका थिए । पहिचान पक्षधर समूहले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानविरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित विरोधका कार्यक्रम गरिरहेको छ ।।
