फिल्म टुल्की जेठ १२ गते प्रदर्शन गरिने

काठमाडौं । हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि प्रदर्शन गरिने भएको छ । फिल्म निर्माताले दुई नयाँ पोस्टर सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन् ।
यस्तै, ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको फिल्मको गीत र ट्रेलर आगामी साता सार्वजनिक हुने भएको छ । पोस्टरमा अभिनेता शिशिर बाङ्देल र स्वस्तिमा कार्कीलाई देख्न सकिन्छ ।
फिल्मलाई डोल्पामा छायांकन गरिएको हो । फिल्ममा देव थापाको निर्देशन, सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ भने शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्मको आरपी कर्माचार्य र उजेली लामा निर्माता हुन् ।
फिल्मको पटकथा शेखर लामाले र शिशिर र स्वस्तिमासहित फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारहरूको अभिनय रहेको छ ।