एमालेका सचिव टोपबहादुर रायमाझी अझै फरार !

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाई नेपालीलाई अमेरिका पठाउने धन्धामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव टोपबहादुर रायमाझी शुक्रबार बिहानसम्म सम्पर्कविहीन अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

प्रनिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट बुधबार साँझदेखि सम्पर्कविहीन भएका थिए ।

रायमाझीले प्रयोग गर्दै आएको प्रदेश–३–०१–०२२ च–०५८२ नम्बरको टाटा हेक्सा गाडी बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आएको छ। सो गाडीमा रायमाझी आफैँ काठमाडौँतर्फ आइरहेको अनुमान गरी पिछा गरेकोमा काठमाडौँ आइपुग्दा भने गाडीमा चालक मात्र रहेको पाइएको प्रहरीले जनाएको छ।

रायमाझी सो गाडीमा नआएको हो वा बीच बाटोबाटै फरार भएको हो भन्नेबारे यकिन भएको छैन। रायमाझी सम्पर्कविहीन भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख दानबहादुर कार्कीले बताए । नक्कली भुटानी शरणार्थी बनाउन प्रमुख भूमिका खेलेको आरोपमा प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई बुधबार पक्राउ गरेको थियो।

२०७८ साउन २७ देखि २०७९ असोज २ सम्म गृहसचिव रहेका पाण्डेले सङ्गठित गिरोहसँग मिलेमतो गरी नक्कली शरणार्थी बनाउन नीतिगत निर्णय गराएको र रकमसमेत लेनदेन गरेको खुलेको प्रहरीको दाबी छ।काठमाडौँ जिल्ला अदालतले सचिव पाण्डेलाई तीन दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमतिसमेत दिएको छ।

एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले बुधबार बुटवलबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालतबाट थुनामा राख्न अनुमति लिएको छ। यस प्रकरणका अर्का योजनाकार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको थियो। ‘बादल’का छोरा प्रतीक तथा पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकोमा प्रहरीले अझै नियन्त्रणमा लिएको छैन। परिसरका प्रवक्ता सीताराम रिजालले आठजना पक्राउ परेको र अझै १०–१२ जना अनुसन्धानमा तानिनसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर