स्वास्थ्य बीमामा सात सुधार योजना
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउन सातवटा सुधारका प्राथमिकता सार्वजनिक गरेको छ ।
स्वास्थ्य बीमाको पहुँच विस्तार, नागरिकको आर्थिक क्षमताअनुसार योगदान प्रणालीको विकास, स्वास्थ्य उपचारसम्बन्धी कार्यक्रमको एकीकरण र डिजिटल प्रणालीको प्रयोगलाई मन्त्रालयले प्रमुख प्राथमिकतामा राखेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको प्राथमिकता अनुसार सरकारी कर्मचारीदेखि निजी क्षेत्रका श्रमिक, स्वरोजगार, अनौपचारिक क्षेत्रका श्रमिक र बेरोजगारसम्म सबै नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गराउने योजना छ ।
त्यसका लागि नागरिकको आय र आर्थिक क्षमताका आधारमा योगदान निर्धारण गरिनेछ । अति विपन्न तथा विशेष समूहका नागरिकको बीमा शुल्क राज्यले व्यहोर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य बीमा सुधारको अर्को प्राथमिकता स्वास्थ्य उपचारसम्बन्धी विभिन्न कार्यक्रमबिच एकीकरण र समन्वय गर्नु रहेको छ । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा अन्य निकायबाट सञ्चालित उपचार सुविधासम्बन्धी कार्यक्रमलाई एकीकृत गर्दै दोहोरोपन हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने मन्त्रालयको योजना छ ।
त्यसैगरी बीमा सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाको सङ्ख्या र पहुँच विस्तार गरी नागरिकलाई सहज, सुलभ र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
मन्त्रालयले बीमा प्रणालीलाई प्रविधिमैत्री बनाउन आबद्धता, नवीकरण, स्वास्थ्य अभिलेख, बिरामी प्रेषण, बीमा दाबी तथा भुक्तानी प्रक्रियालाई डिजिटल प्रणालीमा व्यवस्थित गर्ने जनाएको छ । यसबाट सेवा प्रवाहमा पारदर्शिता बढ्ने र प्रशासनिक झन्झट कम हुने छ ।
स्वास्थ्य बीमाको दुरुपयोग नियन्त्रणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । अनावश्यक स्वास्थ्य परीक्षण, अनुचित बीमा दाबी र प्रणालीगत अनियमितता नियन्त्रण गर्न प्रभावकारी कानुनी व्यवस्था तथा निगरानी प्रणाली विकास गरिने प्राथमिकतामा उल्लेख छ ।
यसका साथै स्थानीय तहका आधारभूत स्वास्थ्य संस्था, प्रदेशका अस्पताल र संघीय सरकारअन्तर्गतका स्वास्थ्य संस्थालाई एउटै बीमा प्रणालीमा जोड्ने योजना मन्त्रालयले अघि सारेको छ । तीनै तहका सरकारको अधिकार, दायित्व, वित्तीय जिम्मेवारी र जवाफदेहिता स्पष्ट पार्दै स्वास्थ्य बीमा सञ्चालनमा समन्वय बढाइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० रुपियाँ योगदान गरेबापत एक लाख रुपियाँसम्मको उपचार सुविधा प्राप्त गर्दै आएका छन् । हालसम्म एक करोड ६८ लाखभन्दा बढी नागरिक बीमामा आबद्ध भए पनि ६२ लाखभन्दा बढीको मात्र बीमा सक्रिय रहेको छ । देशभरका ५०२ स्वास्थ्य संस्था कार्यक्रममा आबद्ध छन् ।
मन्त्रालयले स्वास्थ्य बीमाको प्रभावकारिता बीमितको सङ्ख्यामा मात्र सीमित नरहने स्पष्ट पारेको छ । आवश्यक परेको समयमा नागरिकले उपचार पाउने सुनिश्चितता र कार्यक्रम सञ्चालनका लागि आवश्यक वित्तीय स्रोतको दिगोपना नै स्वास्थ्य बीमा सुधारको मुख्य आधार हुने मन्त्रालयको प्रतिबद्धता छ ।
आर्थिक अभावका कारण कुनै पनि नेपाली नागरिक उपचारबाट वञ्चित हुन नपर्ने अवस्था निर्माण गर्न सक्षम नागरिकको योगदान र असमर्थ नागरिकको उपचारको जिम्मेवारी राज्यले लिने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
