पूर्वी नेपालमा स्क्रब टाइफसको जोखिम
काठमाडौं । पूर्वी नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ । कोशी प्रदेशमा सन् २०२६ जनवरीयता एक हजार ६८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
कोशी प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी सङ्खुवासभामा ५१३ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीमा ११८, भोजपुरमा ११०, ओखलढुङ्गामा ९६, धनकुटा र खोटाङमा ४३ र ४३ तथा झापामा ३७ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
उपियाँ तथा सूक्ष्म किराको टोकाइबाट यो रोग सर्ने जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. वैभव मल्लिकले जानकारी दिनुभयो । धेरै रोगसँग यसको लक्षण मिल्ने भए पनि सुरुमा ज्वरो आउने, हातखुट्टा दुख्ने, आलस्य बढ्ने र शरीरमा डाबर देखिने उहाँले बताउनुभयो । समयमै उपचार नभए बिस्तारै मिर्गौला, फोक्सो र मुटुमा असर पर्नुका साथै श्वासप्रश्वासमा समस्या देखिन सक्ने उहाँको भनाइ छ । उपचार नपाएको अवस्थामा बिरामीको मृत्यु हुनसक्ने जनाइएको छ ।
गर्मी तथा वर्षायाममा रोग सार्ने किरा बढी सक्रिय हुने भएकाले अन्य समयको तुलनामा यस समयमा स्क्रब टाइफसको संक्रमण बढी देखिने गरेको डा. मल्लिकले बताउनुभयो । संक्रमणबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।
रोगलाई प्रकोपका रूपमा फैलिन नदिन पूर्वका १४ वटै जिल्लामा सतर्कता अपनाइएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । परीक्षणका लागि किट तथा किट नभएका जिल्लामा खरिद गर्न रकम छुट्याइएको निर्देशनालयका प्रमुख सागर प्रसाईंले जानकारी दिनुभयो । औषधि, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत गराई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । सन् १९३० को दशकमा जापानमा पहिलोपटक देखिएको स्क्रब टाइफस पछिल्लो एक दशकयता नेपालमा वर्षायाममा निरन्तर देखिँदै आएको छ ।
