भक्तपुरमा सुकुमबासीहरुको विरोध प्रदर्शन
भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरुले थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन रित्तो थाल बोकेर प्रदर्शनमा उत्रिएका हुन्। हातमा रित्तो थाल बोकेर सडकमा निस्किएका सुकुम्बासिको आफ्नो समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनमा महिला, बालबालिकासहित स्थानीय बासिन्दाहरुको सहभागिता देखिएको छ। उनीहरूले आफ्नो गाँस ,बास , जीविकोपार्जन र भविष्यसँग जोडिएका समस्याप्रति राज्य गम्भीर हुनुपर्ने बताएका छन् । स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा बसेका सुकुमबासीहरुलाई २ बजेसम्ममा सो स्थान खाली गर्न निर्देशन दिएपछि त्यहाँ रहेका सुकुमबासी आन्दोलित भएका हुन् ।
सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग
नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको हो ।
संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत सरकारले सुकुम्बासीलाई अस्थायी आश्रयबाट समेत हटाउन खोजेको कांग्रेसको ठहर छ ।
बैठकले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेको समिति पनि गठन गरेको छ ।
मंसिर ८ गतेदेखि जारी बैठकमा ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । धारणा राख्ने क्रम जारी रहेकाले बैठक मंसिर ११ गते शुक्रबार बिहान ८ः३० बजे बैठक पुनः बस्ने कांग्रेसले जनाएको छ ।
