स्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित काठमाडौंबाट दुई जना पक्राउ गरेका छन्।
जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनी घर भई ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट बिहीबार बिहान पक्राउ गरिएको हो।
उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको ५५ दिराम बरामद भएको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका- १७ स्थित ‘स्नोलाइन’ होटलबाट उनीहरू पक्राउ परेका हुन्।
होटलमा अवैध रकम लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचोरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई रकमसहित पक्राउ गरेको हो। उनीहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
