सम्बन्ध विस्तार र आर्थिक समृद्धिमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमण नेपाल–भारत सम्बन्ध विस्तार, आपसी सहकार्य सुदृढीकरण र नेपालको आर्थिक विकास तथा समृद्धिका एजेन्डामा केन्द्रित रहेको सरकारले जनाएको छ।

भ्रमणले दुई देशबीचको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काउन महत्वपूर्ण आधार तयार गरेको सरकारको विश्वास छ।

भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई देशको सम्बन्धलाई थप विस्तार गर्दै परिणाममुखी बनाउने विषयमा छलफल भएको बताउनुभयो। उहाँले वर्तमान सरकारले नेपालको राष्ट्रिय हित प्रवर्द्धनसँगै आर्थिक विकास र समृद्धिलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।

भारतसँग रहँदै आएको सदियौँ पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक तथा जनस्तरको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिकले लाभ प्राप्त गर्ने वातावरण निर्माण गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको मन्त्री खनालको भनाइ छ। उहाँले आपसी सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यका नयाँ सम्भावनालाई परिणाममा रूपान्तरण गर्ने दिशामा भ्रमण केन्द्रित रहेको बताउनुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर