ईपीजीको प्रतिवेदन विगतको विषय : भारतीय विदेश सचिव
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई विगतको विषय भन्दै अब त्यसमा फर्किएर नहेर्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मिश्रीले ईपीजी प्रतिवेदनलाई पुरानो विषयका रूपमा व्याख्या गरेका हुन्।
‘प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन त विगतको कुरा भइसक्यो। हामी यस विशेष मुद्दामा अगाडि हेरिरहेका छौँ, पछाडि फर्किएर हेरेका छैनौँ,’ उनले भने। मिश्रीको अभिव्यक्तिले लामो समयदेखि चर्चामा रहेको ईपीजी प्रतिवेदनलाई भारतले तत्काल अघि बढाउने संकेत नदेखाएको बुझिएको छ।
नेपाल र भारतबीचका पुराना सन्धि–सम्झौताको पुनरवलोकन गरी समयानुकूल सुझाव दिन सन् २०१६ मा दुवै देशका विज्ञ सम्मिलित ईपीजी गठन गरिएको थियो। समूहको नेतृत्व नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा र भारतका तर्फबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीले गरेका थिए। समूहले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिसहित दुई देशबीचका विभिन्न द्विपक्षीय विषय समेटेर प्रतिवेदन तयार पारेको थियो।
