कांग्रेसको आन्तरिक विवाद चरमोत्कर्षमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंमा छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी तीव्र पारेको छ भने सभापति गगन थापा नेतृत्वको पक्षले समानान्तर गतिविधिमा सहभागी नेता तथा जनप्रतिनिधिमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले बुधवार गगन थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक गर्ने निर्णय गरेपछि देउवा पक्ष थप रुष्ट बनेको छ । आयोगले थापा नेतृत्वको कार्यसमिति र संशोधित विधानलाई दल दर्ता किताबमा औपचारिक रूपमा अभिलेख गरेको छ । तर, देउवा पक्षले उक्त निर्णयलाई अन्तिम कानुनी निर्णयका रूपमा स्वीकार गरेको छैन । निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएकाले पुरानो नेतृत्वको वैधानिकता पुन: परीक्षण हुनुपर्ने उनीहरूको तर्क छ । देउवा पक्षले आफूहरू नै कांग्रेसको मूलधार भएको दाबी गर्दै आएको छ ।

गगन थापा नेतृत्वको कांग्रेसले पनि आफ्नो रणनीति स्पष्ट पारेको छ । मंगलवारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले एउटै पार्टीमा दुईवटा महाधिवेशन हुन नसक्ने बताउनुभएको छ ।

उहाँले देउवा पक्षको महाधिवेशनलाई अर्को पार्टीको अधिवेशनको संज्ञा दिँदै त्यसमा सहभागी हुने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पार्टी सदस्यता कायम राख्ने वा अर्को समूहमा जाने निर्णय गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधि अर्को पार्टीको गतिविधिमा सहभागी हुने भए पदबाट राजीनामा दिनुपर्ने उहाँको चेतावनी छ । राजीनामा नदिए पार्टी विधानअनुसार कारबाही गरिने थापाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर