दैलेखमा बन्चरो प्रहारबाट दुई बालबालिकाको मृत्यु

काठमाडौं । दैलेखमा बन्चरो प्रहारबाट दुई बालबालिकाको ज्यान गएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका –३ पानीखोलामा बन्चरो प्रहारबाट दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी दैलेखका अनुसार आमा र छोरा गम्भीर घाइते भएका छन्। घरायसी विवादको क्रममा अम्बर सलामी मगरले आफ्नै श्रीमती र तीन जना छोराछोरीमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेको दैलेख प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब ९ः३५ बजे भएको घटनामा १२ वर्षीय छोरा तपेन्द्र सलामी मगर र तीन वर्षीया छोरी करिश्मा सलामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै बालबालिकालाई उपचारका लागि दुल्लु नगरपालिकास्थित नगर अस्पताल लगिए पनि चिकित्सकले बिहान ११ः१० बजे मृत घोषणा गरेका थिए।

बन्चरो प्रहारबाट अम्बरकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामी मगर गम्भीर घाइते हुनुभएको छ । उहाँहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीले घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर