कांग्रेस महाधिवेशन : लोकतन्त्र सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनबाट सुध्रिएको र बदलिएको कांग्रेस बनेर जनताका घरआँगनमा पुग्ने उद्घोष गर्नुभएको छ ।

विशेष महाधिवेशनको आठ महिनापछि आइतबार काठमाडौँको खुलामञ्चमा १५ औँ महाधिवेशन उद्घाटन गर्दै उहाँले सो उद्घोष गर्नुभएको हो । उहाँले भन्नुभयो, “विशेष महाधिवेशनमा हामीले कांग्रेस बदल्ने सङ्कल्प गरेका थियौँ । अब यो महाधिवेशनबाट बदलिएको कांग्रेस मात्र हैन, नेपाललाई बदल्ने क्षमता राख्ने सङ्कल्प गरेर जाँदै छौँ । यो महाधिवेशन एउटा सुरुवात हो । हामी अब एउटा ऊर्जा लिएर जाँदै छौँ ।”

सभापति थापाले संविधान जारीपछि नेपाली जनताले पुराना दललाई अगाध स्नेह र समर्थन गरे पनि जनअपेक्षाविपरीत सत्ताको ‘म्युजिकल चेयर’ मा व्यस्त भएकाले जनतामा राजनीतिक दल र नेताप्रति वितृष्णा बढेको बताउनुभयो । उहाँले त्यसैको परिणामस्वरूप गत वर्ष भदौ २३ र २४ गतेको घटना भएको उल्लेख गर्दै पार्टीमा असन्तुष्ट रहेका र छाडेर जानेहरूलाई पनि जोडेर लैजाने अभियान अगाडि बढाइने जानकारी गराउनुभयो ।

पार्टी कहिले दर्ता भयो भन्ने आधारमा नयाँ र पुरानो नभई जनताका तत्कालका प्रश्नको जवाफ दिनसक्ने पार्टी नै नयाँ हुने बताउँदै सभापति थापाले नेता र जनताको अभिव्यक्ति सार्वजनिक गर्ने खुलामञ्च जस्तै समाज, संसद् सबैतिर खुला मञ्चको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले कांग्रेसले चुनाव हारे पनि पार्टीको सिद्धान्त कुनै हालतमा हार्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यापक जनमत पाएर बनेको सरकार ढल्ने कल्पना नगर्न आग्रह गर्नुभयो । उहाँले सरकार ढल्छ भनेर हल्ला चलेकोप्रति कटाक्ष गर्दै आन्दोलनबाट सरकार ढाल्ने सपना नदेख्न आग्रह गर्नुभयो । सभापति लामिछानेले भन्नुभयो, “सरकारलाई विस्थापित गर्ने अचुक उपाय निर्वाचन हो । आन्दोलनबाट सरकार ढाल्ने होइन । लोकतन्त्रलाई निर्वाचनको अभ्यासबाट मात्रै बलियो बनाउन सकिन्छ । जनताले मतदान गरेर दिएको जनादेशलाई अपमान गर्ने, निर्वाचन नै गलत थियो भन्ने वा सुरक्षा निकाय र विदेशी हस्तक्षेपको आरोप लगाएर हल्का टिप्पणी गर्ने काम बन्द हुनु पर्छ ।” उहाँले पार्टी लोकतन्त्र र लोकतान्त्रिक संस्थाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै राजनीतिक दलहरूबिच सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाल भूराजनीतिको जटिलतामा परेको उल्लेख गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता विचारको जगमा निर्माण भएका पार्टीले अहिलेको सूचना क्रान्तिले ल्याएको परिवर्तनलाई आत्मसात् गर्दै आवश्यक सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले लोकतन्त्रको भविष्यमाथि चिन्ता बढिरहेकाले सबै दल एक ठाउँमा आउनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई नवीन बाटोमा हिँडाउन निरन्तरतामा क्रमभङ्ग गरेर इतिहास रचेको भन्दै कांग्रेस सभापति थापालाई बधाई दिनुभयो । उहाँले आफू बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्तामध्ये एक मात्र जीवित रहेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी काम सभापति थापाको सहकार्यमा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले पाँच वर्षअघि कांग्रेसको १४ औँ महाधिवेशनमा नेता र राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको बताउँदा दलहरूले त्यसको बेवास्ता गरेको बताउनुभयो । गत वर्ष भदौ २३ र २४ को आन्दोलनका प्रमुख कारण नेता र दलको कार्यशैली रहेको बताउँदै राजा, राजनीतिक दल र जनता सहकार्य गरेर जान आवश्यक रहेकोमा जोड दिनुभयो ।

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेस कुनै हल्लाको भरमा स्थापना भएको पार्टी नभई देशको आवश्यकता, सङ्घर्ष र त्यागबाट बनेको उल्लेख गर्नुभयो ।  उहाँले विगतमा कांग्रेसले केही गल्ती गरेको भए पनि आगामी दिनमा त्यसलाई सुधारेर लैजान आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७२ सालमा नयाँ संविधान जारीपछि देशमा अब नयाँ शक्तिको खाँचो औँल्याउँदै बाटो परिवर्तन गरेकोमा १२ वर्षपछि राजनीतिमा नयाँ शक्तिको उदय भएको बताउनुभयो । उहाँले विद्यमान राजनीतिक दलहरू हिजोकै ढाँचामा अगाडि बढ्न खोजे कुनै अस्तित्व नरहने दाबी गर्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले गगन थापा नेतृत्वको कांग्रेस सफल हुने बताउँदै थारू समुदायको अधिकार स्थापित गर्न आग्रह गर्नुभयो । जसपाका नेता शरत्सिंह भण्डारीले नेपाली कांग्रेसको आन्तरिक जीवनमा समस्या आउँदा देशलाई समेत समस्या आउने भएकाले कांग्रेस बलियो बनोस् भन्ने शुभेक्षा व्यक्त  गर्नुभयो ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले १५ औँ महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । उहाँले ३५ वर्षमुनिका मात्रै दुई लाख ५० हजार कांग्रेस सदस्य रहेको बताउनुभयो ।

उद्घाटन सत्रमा भारत, चीन, बङ्गलादेशलगायत छ देशका विभिन्न राजनीतिक दलले महाधिवेशन सफलताको कामना गर्दै पठाएका शुभकामना सन्देश वाचन गरिएको थियो । विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्नुका साथै नेपाली कांग्रेस परिवर्तन हुँदै गरेको सन्देश दिने वृत्तचित्र प्रदर्शन गरिएको थियो । सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी कांग्रेस महाधिवेशनको बन्दसत्र सोमबारदेखि सुरु हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर