मतभेद बिर्सेर महाधिवेशनमा जुट्न गगन थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्रका विगतका विवाद र मतभेद बिर्सेर एकताबद्ध भएर महाधिवेशनमा जुट्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै थापाले पार्टीको हितलाई केन्द्रमा राखेर विभिन्न चरणमा नेताहरू तथा सदस्यहरूले लचकता अपनाएकै कारण अहिलेको अवस्था सम्भव भएको बताए।
उनले नयाँ केन्द्रीय सदस्यहरूलाई बैठकमा स्वागत गर्दै औपचारिक रूपमा पहिलोपटक सहभागी भए पनि सबै नेता–कार्यकर्ता लामो समयदेखि एउटै यात्रामा रहेको बताए।
गत वर्ष भदौ २३ र २४ गते भएका घटनाबारे अझै धेरै प्रश्न अनुत्तरित रहेको भन्दै थापाले त्यससम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कारबाही गर्नुपर्ने पार्टीको माग कायमै रहेको बताए। ती घटनामा जननिर्वाचित सरकार र संसद्माथि गम्भीर क्षति पुगेको उल्लेख गर्दै उनले त्यसपछिको परिस्थितिबाट पार्टीले पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राखे।
थापाले १५औँ महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए। पार्टीभित्रका विवादलाई सकेसम्म कम गर्दै महाधिवेशन सफल बनाउन नेताहरूले सहयोग गर्नुपर्ने उनको आग्रह थियो। महाधिवेशन व्यवस्थापन समितिमा सबैलाई समेटेर काम गर्ने र आफ्नो तर्फबाट आवश्यक लचकता अपनाउने उनले बताए।
उनले विगतमा कसले के भन्यो, कसले के गर्यो भन्ने विषय अबदेखि बिर्सन आग्रह गरे। कांग्रेसलाई परिवारको संज्ञा दिँदै थापाले सामाजिक सञ्जालमा आफ्नै नेता तथा सहकर्मीप्रति हल्का टिप्पणी गर्ने, आलोचना गर्ने वा विवाद बढाउने काम बन्द गर्नुपर्ने बताए।
‘कहाँ के भयो, के भनियो, कसले के गर्यो भन्ने सबै कुरा आजदेखि बिर्सौँ। हाम्रो पार्टी हो, हाम्रो घर हो, परिवार हो,’ उनले भने।
थापाले असोज ३ र ४ गते हुने अधिवेशनमा सहभागी हुन जिल्लादेखि वडा तहसम्मका नेता–कार्यकर्तालाई आग्रह गरे। अधिवेशन बहिष्कार गर्ने वा सहभागी नहुने अभिव्यक्ति नदिन आग्रह गर्दै उनले महाधिवेशन सकिएपछि पार्टीभित्रको आन्तरिक झन्झटबाट बाहिर निस्केर जनतामाझ जानुपर्ने बताए।
उनले कांग्रेसबाट टाढिएका परिवार तथा मतदातालाई पुनः पार्टीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै महिलाको नेतृत्व बढाउने, नयाँ पुस्तालाई अवसर दिने तथा सबै समुदायलाई पार्टीमा समेट्ने योजना रहेको उनले बताए।
थापाले कांग्रेस चार–पाँच पुस्ताको पार्टी भएकाले पुराना नेतादेखि नयाँ पुस्तासम्मलाई सँगसँगै अघि बढाउनुपर्ने बताए। प्रजातन्त्र सेनानी, युवा, महिला, विभिन्न पेसाका बुद्धिजीवी तथा पार्टीबाहिरबाट आउने योग्य व्यक्तिलाई समेत नयाँ ढङ्गले समेट्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
पार्टीभित्र मतभेद र विवाद हुनु स्वाभाविक भए पनि त्यसलाई सकेसम्म कम गर्दै महाधिवेशनलाई ऐतिहासिक बनाउनुपर्ने थापाले बताए। उनले महाधिवेशन उद्घाटनको दिनसम्म पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी गराउने प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
‘सोह्र गतेसम्म, अधिवेशनको उद्घाटनको दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई अधिवेशनमा लिएर आउने कोसिस हामीले गर्ने हो। हामी सबै मिलेर कोसिस गरौँ,’ उनले भने।
थापाले महाधिवेशनलाई पार्टीको आन्तरिक प्रतिस्पर्धाभन्दा पनि कांग्रेसलाई थप सुदृढ, समावेशी र नयाँ ढङ्गले अघि बढाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
