एकातिर महाधिवेशन स्थगित गर्न माग, अर्कोतिर एक घण्टा पनि तलमाथि नहुने गगनको उद्घोष
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै मितिभन्दा एक घण्टा पनि तलमाथि नहुने स्पष्ट पारेका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आज शुक्रबार आयोजित कार्यक्रममा सभापति थापाले महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने भन्दै सम्पूर्ण नेता–कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा होमिन आह्वान गरे।
सभापति थापाले महाधिवेशनमा सहभागी हुन कसैलाई पनि बन्देज नगरिएको र सबै पक्ष सहभागी हुने विश्वास व्यक्त गरे। अलमलमा परेका सबैलाई जोड्ने प्रयास निरन्तर जारी रहने उनले प्रतिबद्धता पनि जनाए। पार्टीभित्रका विकृति र विसङ्गतिविरुद्ध निर्मम बन्न तथा आन्तरिक एकताका लागि भने नरम र लचिलो हुन आफूले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाटै सिकेको स्मरण गर्दै थापाले पार्टीलाई विधि र थितिमा हिँडाउन कुनै सम्झौता नगर्ने अडान दोहोर्याए। आगामी महाधिवेशन सम्पन्न भएलगत्तै कांग्रेस जनतासँग प्रत्यक्ष जोडिने बृहत् अभियान लिएर देशका गाउँगाउँ पुग्ने उद्घोषसमेत उनले गरे।
सबै उद्योग र व्यापार सरकारले मात्रै चलाउनुपर्छ भन्ने पुरातन मान्यताले राज्यलाई आर्थिक घाटामा मात्र अल्मल्याउने र निजी क्षेत्रको विशाल व्यावसायिक सम्भावनालाई कुण्ठित बनाउने थियो उनले भने । सभापति थापाले कोइरालाकै नीतिका कारण नेपाली अर्थतन्त्रले फराकिलो रूप लिन सकेको स्पष्ट पारे। खुला बजार अर्थतन्त्र, लोकतन्त्रको सुदृढीकरण र समावेशी समृद्धिका लागि कोइरालाले देखाएको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको सभापति थापाको भनाइ छ ।
१५औं महाधिवेशन कार्यतालिका तत्काल स्थगित गर्न माग
नेपाली कांग्रेसका २४ जना नेताहरूले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दी अन्त्य गर्दै पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्। देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको तथा राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएको अवस्थामा पार्टीभित्रको विवादले राष्ट्रिय राजनीतिमै नकारात्मक असर पारेको भन्दै नेताहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो आह्वान गरेका हुन्।
नेताहरूले नेपाली कांग्रेसको आन्तरिक कलहकै कारण समग्र राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन कठिन भइरहेको र यस्तो अवस्थामा विवादलाई थप चर्कन वा पार्टीलाई विभाजित हुनबाट जोगाउन नेतृत्व पंक्ति गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। व्यक्तिगत स्वार्थ र अहंकार त्यागेर पार्टीको बृहत् हितलाई केन्द्रमा राखी सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न वर्तमान नेतृत्वलाई दबाब दिइएको छ। विज्ञप्तिमा आगामी १५औं महाधिवेशनमार्फत कांग्रेसको सबल नेतृत्व चयन र स्पष्ट दिशा तय गर्न वर्तमान पार्टी सभापतिका रूपमा गगन थापाको भूमिका विशेष महत्त्वपूर्ण रहने उल्लेख गरिएको छ।
विगतका तिता-मिठा अनुभव र मतभेदलाई बोकेर बस्नुभन्दा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने निष्कर्ष विज्ञप्तिमा निकालिएको छ। यसरी संयुक्त रूपमा देश र पार्टी बचाउने सार्वजनिक अपील गर्ने नेताहरूमा महालक्ष्मी उपाध्याय (डिना), पार्टीको एकता अभियानमा लामो सयमदेखि सक्रिय नेता नैनसिंह महर, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा र सीता कुमारी राना रहेका छन्।
त्यसैगरी सरस्वती बझिमय, मान बहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेश जंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरुङ, शान्ति परियार, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौडेल, ललित जंग शाही, प्रदीप कुमार सुनुवार, इन्द्र बहादुर बानिया र अनिल रुंगटालगायतका नेताहरूले पनि यस विज्ञप्तिमा हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका छन्।
