सिंहदरबार र अदालत जलाउनेलाई कारवाही कहिले ? : गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनामा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर सजाय दिनुपर्ने माग गरेका छन्।

सिंहदरबार र अदालतजस्ता राज्यका प्रमुख अंग जलाउने तथा विध्वंस मच्चाउनेहरूमाथि अझैसम्म कारबाही नहुनु र राज्य संयन्त्र मौन बस्नु गम्भीर चिन्ताको विषय भएको उनले बताए। बीपी जयन्तीको अवसरमा आज बुधबार एक भिडियो जारी गर्दै सभापति थापाले घटनाको निष्पक्ष अनुसन्धान गरी तत्काल दोषी पहिचान गर्न सरकारसँग माग गरे।

सभापति थापाले भने, ‘को थियो सिंहदरबार जलाउने ? को थियो अदालत जलाउने ? त्यो दिन त्यत्रो ध्वंस गराउने को थियो र कसले उकास्यो ? किन आज कोही चुइँक्क बोल्दैन र कसैले यसको जिम्मा लिँदैन ? यसको जवाफदेहिता कसैले लिनुपर्दैन ?’

निर्वाचनलगत्तै सरकारले भदौ २४ गतेको घटनाबारे निष्पक्ष अनुसन्धान र छानबिन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म प्रक्रिया अघि नबढेको भन्दै थापाले असन्तुष्टि व्यक्त गरे। अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरेका उनले भदौ २३ गतेको घटनाबारे अध्ययन सम्पन्न भइसकेकाले त्यसको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न र नागरिकलाई अन्योलमा नराख्न सरकारलाई आग्रह गरे।

सभापति थापाले भदौ २३ गते भएको दमनको जिम्मेवारी किटान गरी दोषीलाई कारबाही गर्नुपर्ने, हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने तथा भदौ २४ गते विध्वंस मच्चाउनेहरूलाई समेत कानुनी कठघरामा उभ्याउनुपर्ने धारणा व्यक्त गरे।

दण्डहीनता बढ्दै गए भोलि जो-कोही पनि यसको सिकार हुन सक्ने चेतावनी दिँदै उनले भने, ‘काल पल्किसकेपछि यो-त्यो भन्दैन। आज पीडामा अरू कोही परेको होला, तर अपराध गर्नेलाई सजाय दिइएन भने भोलि त्यो पीडा जसले पनि भोग्नुपर्ने हुनसक्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर