गृहमन्त्रीको फूर्तिलो जवाफ : “जेनेरेसन ग्याप”

काठमाडौं ।  माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसिरहेका मध्ये दुई जनालाई शक्रुबार बिहान जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङ हेलिकप्टरमार्फत त्यहाँ पुगे । गुरुङले उद्धार गरिएका व्यक्तिलाई बाहिर निकाल्ने क्रममा प्रयोग गरिएको सानो अक्सिजन सिलिन्डर गृहमन्त्री आफैंले हातमा बोकेर हिँडेको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो ।

उक्त दृश्यलाई लिएर शुक्रबार सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङको आलोचना भएको छ । कतिपयले उद्धार कार्यमा आफ्नो प्रत्यक्ष भूमिका देखाउन खोजेको भन्दै ‘स्टण्टबाजी’ को संज्ञासमेत दिएका छन् । यही आलोचनाबीच गृहमन्त्री गुरुङले आफ्नो कार्यशैलीबारे स्पष्टीकरण दिएका छन् ।

गृहमन्त्री गुरुङले भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा आफ्नो उपस्थितिलाई लिएर भइरहेको आलोचनाप्रति आफू कहाँ हुन्छु भनेर नखोज्न र परिणाम हेर्न जवाफ दिए । उनले सामाजिक सञ्जालमार्फत ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो “जेनेरेसन ग्याप” रहेको जवाफ दिएका हुन् ।

डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको उनको दाबी छ। आलोचकहरूलाई लक्षित गर्दै उनले भनेका छन्, ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु।’

उनले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको प्रष्ट पारेका छन्। ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप), अनलाइनबाट हामी हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ,’ उनले लेखेका छन् ।

फिल्डको वास्तविक यथार्थ नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम देशले वर्षौँदेखि भोग्दै आएको भन्दै उनले पुरानो कार्यशैलीको आलोचना गरेका छन्। ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ,’ गृहमन्त्री गुरुङले लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर