नागरिकको जीउधन रक्षाको विषयमा रवि र बालेनबिच वार्ता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज सोमबार सिंहदरवारमा भेटवार्ता भएको छ । भेटमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ ।
भेटका क्रममा बाढी प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा र विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई जानकारी गराएको बताइएको छ ।
प्रधानमन्त्री शाह र लामिछानेबीचको भेटमा विपद्का कारण उत्पन्न परिस्थितिको व्यवस्थापन तथा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो ।
राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच भेटवार्ता
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराभएको रास्वपाले जनाएको छ ।
सभापति लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सोबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।
